नेपाललाई समृद्ध बनाउने यस्तो आउँदै नेकपा (एमाले)को घोषणापत्र

ghosanapatra

नेकपा एमालेले हरेक व्यक्तिलाई समृद्ध बनाउने गरि कार्यक्रम ल्याउने भएको छ । नेकपा एमालेका कार्यबाहक अध्यक्ष बामदेव गौतमले स्थानीय तह निर्वाचनको घोषणापत्रमा पाँच वर्षभित्रमा १८ वर्ष उमेर पुगेका सबै युवालाई रोजगारी दिइने कार्यक्रम ल्याउन थालेको बताएका छन् ।   सोमबार पार्टी कार्यालय धुम्बाराहीमा एमाले प्रचार विभागले आयोजना गरेको स्थानीय तहको ‘घोषणापत्रमा आमसन्चार’सम्बन्धी सुझाव संकलन तथा छलफल कार्यक्रममा उनले भने–‘तीन वर्षमा ‘एक घर एक रोजगार’ बनाइने छ ।’

कार्यवाहक अध्यक्ष गौतमले ‘निर्वाचनपछि केन्द्रमा एमालेको सरकार बनेमा कोही पनि युवा बेरोजगार भएर बस्नुपर्दैन’ भन्दै पहिलो वर्षमा खाद्यान्नमा आत्मनिर्भर तथा तीन वर्षमा गरिबी उन्मूलन गर्ने बताए ।

पाँच वर्षमा हरेक नेपालीको प्रतिव्यक्ति आम्दानी पाँच हजार अमेरिकी डलर पुर्‍याउनेखालका योजना घोषणापत्रमा ल्याउन थालेको बताउँदै उनले स्थानीय तहको भौतिक पूर्वाधार तयार गरी तीन वर्षमा नगरपालिका र गाउँपालिकालाई अन्तर्राष्ट्रियस्तरमा जोड्ने योजना ल्याउन लागेको बताए ।

कावा अध्यक्ष गौतमले स्थानीय तहका लागि केन्द्र सरकारको ५० प्रतिशत बजेट विनियोजन गर्ने किसिमको कार्यक्रम ल्याउन थालेको जानकारी दिँदै ‘केन्द्रले स्थानीय तहलाई आफ्नो खुट्टामा आफैं उभिनेगरी बजेट विनियोजन गर्नुपर्दछ’–भने ।

घोषणापत्रमा शिक्षा, स्वास्थ्य, मनोरन्जनजस्ता कुरा निःशुल्क गर्ने बताउँदै उनले अबको शिक्षा व्यावहारिक र वैज्ञानिक बनाइने धारणा व्यक्त गरे ।

कावा अध्यक्ष गौतमले माध्यामिक र उच्च शिक्षाको अध्ययन गर्नका लागि आवासीयसहित निःशुल्क शिक्षा प्रदान गर्ने योजना पार्टीले ल्याउन लागेको उल्लेख गर्दै ‘व्यावसायिक र प्राविधिक शिक्षामा ७० प्रतिशत तथा सामाजिक, राजनीतिक र प्रशासनिक शिक्षामा ३० प्रतिशत जनशक्ति उत्पादन गर्ने योजना पार्टीको छ’–भने ।

आगामी १० वर्षभित्रमा नेपाललाई एसियाको मापदन्डमा पुर्‍याउने र प्रत्येक प्रदेशमा एउटा सूचना गाउँ स्थापना गर्ने बताउँदै उनले स्थानीय भाषाको विकासका लागि नीति ल्याइने जानकारी दिए ।

पार्टीले इन्टरनेटलाई पूर्णतया निःशुल्क प्रदान गर्नेजस्ता योजना घोषणापत्रमा ल्याउन थालिएको पनि उनले जानकारी दिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *